जिल्लाको नामाकरण तथा ऐतिहासिक पृष्ठभूमि
नेपालको मानचित्रमा मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वाग्मती अंचलको उत्तरतिर चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको विकट हिमाली जिल्ला हो रसुवा जिल्ला । हिन्दुहरुको पवित्र तीर्थस्थल गोसाईंकुण्ड यहि जिल्लामा रहेको छ । यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजंगलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरुको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्व बोकेको छ । छिमेकी मित्र राष्ट्र चीनको स्वशासित क्षेत्र तिव्वतसंग मितेरी गाँसेर वसेको एक रमणिय जिल्ला हो । यस जिल्लाको नामाकरण कसरी भयो भन्ने वास्तविकतामा गहिरिने हो भने स्थानीय भाषामा "र" को अर्थ भेडा च्याङग्रा र "सोवा" को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने वुझिन्छ । अर्थात प्रसस्त भेडाच्याङग्रा पाइने ठाउँ भएकोले "रसोवा" भन्ने गरेको र वोलिचालिको भाषामा अपभ्रस भएर पछि रसुवा भनिन थालिएको किम्बदन्ती रहेको छ ।

भौगोलिक अवस्थिति
रसुवा जिल्लाको अक्षांशको  हिसावले २८.०० देखि २८.१५ उत्तरी अक्षांश र ८५.१५  देखि ८५.५० पूर्वी देशान्तरमा अवस्थिति रहेको छ । जिल्लाको न्यूनतमा उचाई ३१४ देखि अधिकतम उचाई  ७१३४ मिटरसम्म र सदरमुकाम धुञ्चेको उचाई १९५० मिटर रहेको छ । भौगोलिक वनावटको हिसावले उच्च हिमशिखर, नाङ्गा पहाड, भीर, पाखापखेरा, केही पहाडी एवं वेशी भू-भाग रहेको यस जिल्लालाई मुख्यत तीन भागमा विभाजन गर्न सकिन्छ ।

क) हिमाली प्रदेश : यस क्षेत्रमा गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ, यलापीक, लाङसिसा खर्क, साङ्गजेन खर्क लगायतका ५,००० मिटर भन्दा अग्लो भाग तथा सधै हिउँ भइरहने पर्वत श्रृखलाहरु पर्दछन् ।

ख) लेकाली प्रदेश : समुन्द्र सतह देखि २५०० मिटर भन्दा माथिका उच्च पहाडी भाग जहाँ सधै हिउँदको मौसममा वरावर हिमपात हुने गर्दछ । लाङटाङ, क्यांजीङ्ग, घोडातवेला, गोसाईंकुण्ड, लौरीविनायक, चन्दनवारी, माङ्गचेत, सोम्दाङ, गन्जला भञ्ज्याङ्ग आदि यस क्षेत्रमा पर्ने मुख्य स्थानहरु हुन । यस भेगमा मौसम अनुसार मानिसहरु वसोवास गर्ने र गोठ सार्ने गर्दछन् । यहाँका मानिसहरु न्यानोको लागि वख्खु र ऊनीका वाक्ला लुगा लगाउने, चौरी, भेडा, वाख्रा आदि पालन गर्ने गर्दछन् ।

ग) पहाडी तथा वेसी प्रदेश : समुन्द्र सतह देखि २५०० भन्दा तलको भागलाई यस जिल्लाको भू-स्वरुप अनुसार पहाडी भागमा समावेश गर्न उपयूक्त हुने देखिन्छ । वेत्रावती, पैरेवसी, स्याफ्रुबेसी, फलाखु किनार आदि नगन्य मात्रामा वेसी परेका स्थानहरु भएतापनि मुख्य स्थानहरु पहाडी भू-भाग भएकोले स्थानीय जनजीवनमा पहाडी प्रभाव अत्यधिक रहेको छ । धुञ्चे, गोल्जुङ, यार्सा, सरमथली, कालिकास्था‌न, लहरेपौवा, ठूलोगाउँ आदि यस क्षेत्रमा पर्ने प्रमुख स्थानहरु हुन । यहाँ जनजीवन अन्यत्र भन्दा सामान्य भएतापनि उत्पादनको न्यूनताले र उद्योग व्यापारको कमिले गर्दा जीवनस्तर उकास्न नसकेको पाईन्छ । खेतीपाती, पशुपालन र नगन्य रुपमा जागीर यस भेगका बासिन्दाहरुको मुख्य व्यवसाय रहि आएको छ ।
राजनीतिक  तथा प्रशासनिक विभाजन
रसुवा जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तगत बागमती अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम धुन्चे हो ।  राजनीतिक  तथा प्रशासकीय दृष्टिले यस जिल्लालाई एक निर्वाचन क्षेत्र, नौ इलाका र १८ वटा गाउँ विकास समितिमा विभाजन गरिएको छ ।