निर्माणाधीन क्षेत्रीय नागरिक स्रोतकेन्द्र भवन निर्माण
 सम्बन्धी  परियोजना अवधारणा पत्र

हेटौंडा-२ वनस्खण्डीमा निर्माणाधिन भवन
१. पृष्ठभुमीः
नेपालको इतिहासमा नागरिक संघ संगठन र गैरसरकारी संघ संस्थाहरुको शुरुवात र विकास भएको धेरै भएको छैन । वि.स.२०४६ सालमा सम्पन्न जनआन्दोलन र राजनीतिक परिवर्तन पछि समूदायमा आधारित संघ संस्थाहरु, गैरसरकारी संघ संस्थाहरु र अरु स्वतन्त्र नागरिक संघ संगठनहरु स्थापना हुने अवसरको सृजना भयो । वि.सं. २०६२/६३ को जनआन्दोलन र राजनीतिक परिवर्तन संगै नागरिक समाज र संघ संगठनहरुको भूमिका अरु महत्वपूर्ण बन्दै गएको छ । यही तथ्यलाई विचार गरि नागरीक संगठनहरुको स्रोतको आधार खडा गर्ने, प्रभावकारी रुपमा संस्थागत विकास एवं क्षमता अभिवृद्धि गर्ने र नागरीकका सवाल एवं मुद्दाहरुमा जनवकालत गर्ने प्रमुख उद्देश्यले हेटौंडामा सन् २००४ मा एउटा सामुदायिक केन्द्रकारुपमा क्षेत्रीय स्रोत केन्द्र स्थापना भई संचालनमा आइरहेको छ । सो स्रोतकेन्द्र अन्तर्गत जनसरोकारका विषयमा सभा सम्मेलनका लागि उपयुक्त आफ्नै सामुदायीक हल, सूचना केन्द्र÷बैंक्र र आवसीय तालिम केन्द्र सहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने अवधारणा बमोजिम काम भईरहेको छ ।

स्रोतकेन्द्रले विभिन्न नागरिक समाज संघ संस्थाहरु, विभिन्न महासंघहरु, सञ्जालहरु, मानवअधिकार एवं वुद्धिजिविहरुसंग व्यापक समन्वय र सहकार्य गरी जनसरोकारका सवालहरुमा सम्वाद चलाएर नागरिक समाजको तर्फबाट विभिन्न सुझावहरु संकलन गरी नेपाल सरकारको नीतिनिर्माण तहमा पनि सहयोग पु्याउदै आएको छ । आदिवासीजनजाति, महिला तथा बालबालिका, दलित, अपांग नागरिक लगायत आम नागरिकका समस्या एवं चासोको विषयमा नागरिक संगठनका प्रतिनिधिहरुले परार्मश गर्ने साझा थलोको रुपमा स्रोतकेन्द्रले काम गर्दै आएकोले स्रोतकेन्द्रको कामको प्रकृति अनुसार नै यसलाई क्षेत्रीय नागरिक स्रोतकेन्द्र" Civil Society Knowledge Center को रुपमा विकास गर्ने अवधारणा अनुसार क्षेत्रीय नागरिक स्रोत केन्द्र नामाकरण गरी यो बहुउद्देश्यीय सामुदायिक भवन निर्माणको कार्य अगाडि बढिरहेको छ ।

१.१ नागरिक स्रोतकेन्द्रका उद्देश्यहरु


  • समसामयिक जनसरोकारका विषय एवं नागरिकका सवालहरुमा अन्य महासंघ, नागरिक समाज संस्था एवं नीजि क्षेत्रसंग संजाल निर्माण गरी जनवकालत गर्ने ।
  • क्षेत्रीय स्तरमा सूचना केन्द्र÷बैंक स्थापना गर्ने, सूचना आदान प्रदान गर्ने र विभिन्न खोजमूलक विषयहरुको अध्ययन अनुसन्धान र प्रकाशन गर्ने ।
  • सामाजिक रुपान्तरण, सुशासन, मानवअधिकार, महिलाअधिकार, सामाजिक न्याय, लोकतन्त्र र संविधान निर्माण जस्ता विषयमा वकालत, संवाद र छलफल गर्दै, संविधान निर्माण प्रक्रियामा स्थानीय स्तरका विचार र क्षेत्रीय कार्यक्रमलाई केन्द्रीय तहका प्रक्रियाहरुसंग संयोजन र समन्वय गर्ने ।
  • क्षेत्रीयस्तरवाट सरकारी, निजी क्षेत्र, नागरिक समाज र दातृसंस्थाहरु बीच समन्वय, सम्वन्ध विकास, आपसी नेटवर्कीङ्क एवं सहकार्य गरी दरिलो सम्पर्क केन्द्रको रुपमा कार्य गर्ने ।
  • नागरिक समाज संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिवृद्धि, मानवीय स्रोतको विकासका लागि तालिम, गोष्ठी, वैठक, कार्यशाला सञ्चालन, सहजीकरण, परामर्श सेवा प्रदान गर्ने ।
  • मध्यमाञ्चलका १९ वटै जिल्लाहरुको वस्तुस्थितिका साथै गैससहरु लगायत सामाजिक विकास एवं नागरीक अभियानसंग सम्वन्धित सूचना, तथ्याङ्क, घटना अध्ययन/सफलताको कथा (Case Study/Success Study) आदिको अभिलेख राख्ने ।

१.२ स्रोत केन्द्रले हालसम्म गरी आएका कामहरु


  • सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, दातृ निकाय, अन्तर्राष्ट्रिय गैसस, नागरिक संगठन बिच सम्पर्क सम्वन्ध विकास, सहकार्य गर्दै सामुदायिक केन्द्रको रुपमा सञ्चालित । 
  • संस्थागत विकास र मानवीय क्षमता अभिबृद्धि सम्बन्धि बिभिन्न किसिमका तालिम, गोष्ठि, कार्यशाला आयोजना ।
  • जातीय, क्षेत्रीय, लैङ्गिक समानता, सुशासन, समावेशीकरण, मानव अधिकारका साथै अन्य जनसरोकारका सवालहरुमा स्रोतकेन्द्रले अन्य महासंघ, नेटवर्क र नागरिक समाज संस्थाहरुसित समन्वय गरी संयुक्त आयोजनामा नागरिक ¥याली, सभा, गोष्ठि, निर्वाचन पर्यवेक्षण, संबिधान सभा मतदाता शिक्षा, संविधानमा समेट्नु पर्ने जनताका सवाल सम्बन्धि गोलमेच कार्यक्रम आदिको आयोजना ।
  •  पुस्तकालय सञ्चालन ।
  • मध्यमाञ्चलका १९ वटै जिल्लाहरुको गैसस प्रोफाइल प्रकाशनका साथै शाखाहरुको गतिबिधि, बस्तुगत स्थिति, गैसस, अन्तर्राष्ट्रिय गैसस, दातृनिकाय र अन्य क्षेत्रको विवरण संकलन ।
  •  पाखा पारिएका वर्ग क्षेत्र एंव सामाजिक विकास अभियानसँग सम्बन्धित सामाग्री पत्रिकाबाट फोटोकपी गरी अभिलेख राख्ने कार्य ।
  •   सुचना तथ्याङ्क संकलन एंव अभिलेखिकरणका साथै सम्प्रेषण ।
  • सचिवालय सेवा सहितको आवासीय तालिम केन्द्र सञ्चालन ।
  •  प्रस्तावना पत्र/ प्रतिवेदन/  ब्रोसियर लेखन अनुवादका साथै परामर्श सेवा प्रदान ।

 २. यस प्रस्तावनापत्रको उद्देश्य
यस प्रस्तावनापत्रको मुख्य उद्देश्य सम्बन्धित निकायहरुलाई निर्माणाधीन क्षेत्रीय नागरिक स्रोतकेन्द्र भवन निर्माण योजनामा भएको निर्माणकार्यको प्रगतिबारे यथेष्ट जानकारी गराई योजनामा थप बजेट विनियोजन गर्न अनुरोध गर्नु हो । निर्माणाधीन क्षेत्रीय नागरिक स्रोतकेन्द्र (बहुउद्देश्यीय सामुदायिक केन्द्र) का प्रमुख उद्देश्य यस प्रकारका छन् ।


  • स्रोतकेन्द्र अन्तर्गत सन्चालनमा रहेको पुस्तकालयलाई समावेशी सामुदायिक पुस्तकालयकारुपमा स्थापित गर्ने तथा सामाजिक विकासका क्षेत्रमा रुची राख्ने अनुसन्धाताहरुका लागि स्रोतकेन्द्रका रुपमा विकसित गर्ने ।
  • सञ्चालन भैरहेको क्षेत्रीय स्रोतकेन्द्रलाई सुविधासम्पन्न क्षेत्रीय सुचना केन्द्र तथा डाटा बैंकका रुपमा विकास गर्ने ।
  • गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, निजि क्षेत्र र नागरिक समाजका प्रतिनिधिहरुको बीचमा सहसम्बन्ध स्थापित गर्ने, मानव अधिकार आदिका विषयमा जनवकालत गर्ने तथा महिला, बालबालिका, दलित, जनजाति, विपन्न समुदायका सार्वजनिक चासोका विषयमा छलफल गर्ने दिगो साझा सामुदायिक केन्द्र स्थापना गर्ने ।
           
   ३. स्रोतकेन्द्र सञ्चालन एवं भवन निर्माण बिधि
क्षेत्रीय नागरिक स्रोत केन्द्रका लागि स्रोत संकलन, भवन निर्माण र निर्माण पछि संचालनमा पनि समग्र नागरीक संगठनहरुको प्रतिनिधिमूलक सहभागिता गराउने गरी क्षेत्रीय नागरिक स्रोत केन्द्र स्रोत व्यवस्थापन तथा भवन निर्माण मूल समिति गठन गरेर योजना कार्यान्वयललाई अगाडि बढाएको छ । यस समिति अन्तर्गत सामान खरिद तथा निर्माण उपसमिति र योजना अनुगमन उपसमिति समेत् गठन गरिएको छ । भवन निर्माण मूल समितिको नामावली संलग्न गरिएको छ ।

५. आयोजनाको औचित्य :
स्रोत केन्द्रका लक्षित समूदायहरु (गैससहरु, विकासे कार्यकर्ता, सरकारी निकाय, नीजि क्षेत्र, नागरिक समाज, पेसाकर्मी, अनुसन्धानकर्ता, महिला, बालबालिका लगायत पाखा पारिएका सिमान्तकृत वर्ग, शैक्षिक संस्थाहरु, विद्यार्थी, मानव अधिकारवादी, राजनीतिक व्यक्तित्व, दातृ समूदायहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु आदि) सामु आफ्नो सेवा पुर्याउन प्रतिबद्ध छ । तर स्रोतकेन्दको आफ्नै स्थायी भवन नभएकोले सवै गतिविधिहरु नियमितरुपमा सञ्चालन गर्न सकिरहेको अवस्था छैन । सवै लाभग्राहीहरुलाई माग अनुसारको सेवा सुविधा पु्याउन सकिएको छैन । स्रोत केन्द्रको आफ्नै भवन भएमा यी समस्याहरुबाट मुक्त हुन सकिने छ । स्रोत केन्द्रले खरिद गरेको जग्गामा स्रोतकेन्द्रको सचिवालय, पुस्तकालय, सुचना तथा तथ्याङ्क संकलन एंव सम्प्रेषण केन्द्र र आवासिय तालिम केन्द्र संचालन गर्न र नागरिक समाजका सदस्यहरु भेला हुने साझा स्थलका लागि एक सुविधासम्पन्न सामुदायिक भवन बनाउने योजना अनुसार निर्माणको काम भईरहेको छ ।

६.भवन निर्माण स्थलभवनको संरचना
स्रोत केन्द्रको भवन हेटौंडा न.पा.वडा नं २ वनस्खण्डी मन्दिर नजिक निर्माण भईरहेको छ । सो क्षेत्र हेटौंडाको एक पर्यटकीय, पिकनिक, वैवाहिक एवं सभा गोष्ठि आदि कार्यक्रम गर्ने स्थलको रुपमा विकास भईरहेको छ । स्थानीय वनस्खण्डी सामुदायिक वन उपभोक्ता समूह एवं वनस्खण्डी मन्दीर समितिले सो क्षेत्रको वन वातावरणको संरक्षणमा योगदान पु¥याइरहेको  छ ।
सो स्थलमा बन्ने केन्द्रको भवन जमिन तल्ला समेत ३ तल्लाको बनाउने योजना अनुसार कार्यान्वयन भईरहेको छ । केन्द्र अन्तर्गत सचिवालय तथा सूचना र पुस्तकालय भवन (Block A) सामुदायिक हल तर्फको (Block B) क्यान्टिन (Block C)  र गार्ड हाउस (Block D ) रहनेछ । भुईं तलामा सामुदायीक हल सहित ६ वटा कोठा हुनेछन् । सोधपूछ, सूचना सेवा, सचिवालय सेवा र २ वटा कोठा पुस्तकालयका लागि प्रयोग गरिनेछ । पुस्तकालयको एउटा कोठा विशेषत महिला, बालबालिका तथा सिमान्तकृत वर्गका लागि उपयुक्त हुने गरी व्यवस्था गरिनेछ ।
पहिलो तलामा ७ वटा कोठाहरु हुनेछन् । ६ वटा कोठाहरु पूर्णरुपमा बसोबासका लागि प्रयोग गरिनेछ भने बाकि रहेको कोठा सचिवालय सेवाका लागि प्रयोग गरिनेछ । दोस्रो तलामा स्टोर, सानो तालिम कक्ष, तालिम हलको सचिवालय लगायत बसोबासको लागि कोठाहरु रहनेछन् । 

७. अनुमानित लागत स्टीमेट
स्रोतकेन्द्रको लागि आन्तरिक स्रोतबाट व्यवस्था गरिएको जग्गाको तत्कालीन अनुमानित मूल्य सहित क्षेत्रीय नागरिक स्रोतकेन्द्र भवन निर्माण परियोजनाको प्रारभिक अनुमानित लागत १ करोड ३९ लाख ६१ हजार ४७२ रुपिया रहेको थियो । हाल निर्माणाधीन भवनको समयसापेक्ष परिमार्जित लागत स्टीमेट १ करोड ३० लाख रुपिया रहेको छ ।

८. स्रोतकेन्द्र भवन निर्माण योजनामा हाल सम्मको प्रगति
यो क्षेत्रीयस्तरको सामुदायिक स्रोतकेन्द्र भवन निर्माणका लागि पहिलो चरणमा अवधारणा पत्र माथि मकवानपुरका राजनैतिक दल, नागरिक समाज, गैसस, सहकारी, वनसमुह, स्थानिय निकाय (जि.वि.स.,नगरपालिका), निजिक्षेत्र, अन्य स्थानीय सामाजिक संघ संस्था र ब्यक्तिहरु आदि सँग छलफल अन्तरक्रिया  गरियो । यी क्षेत्रहरुबाट यस प्रकारको बहुउद्देश्यीय सामुदायिक स्रोतकेन्द्र निर्माण प्रति सकारात्मक हुदै निर्माण कार्यमा आआफनो क्षेत्रवाट यथासक्य सहयोग गर्ने प्रतिवद्धता समेत प्राप्त भयो । त्यस पश्चात् विभिन्न निकायमा अवधारणा तथा प्रस्तावना पत्र पेश गर्ने कार्य गरियो । औपचारिकरुपमा २०६७ साल भाद्र १० गते शिलान्यास गरी भवन निर्माणको कार्य प्रारंभ गरिएको थियो । हाल सम्म सामुदायीक हल (Block B)  तर्फको भवनको छत ढलान कार्य सम्पन्न भएको छ र सचिवालय भवन (Block A) तर्फ जमिन तलाको गारो जोडाई भई ढलानका लागि तयारी गर्ने अवस्थामा पुगेको छ । निर्माणाधीन भवनको डिजाइन अनुसारको तस्बीर र भवनको निर्माणाधीन अवस्थाको तस्बीर यसै प्रस्तावनाको कभर पृष्ठमा राखिएको छ ।
यस योजनामा २०६८ माघ मसान्त सम्ममा आन्तरिक स्रोत, जिविस/ नगरपालिका, जर्मनी राजदूतावास, विभिन्न स्थानीय तथा क्षेत्रका गैरसरकारी संघ संस्थाहरु र नागरिक समाजका पतिनिधिहरुबाट रु ३८ लाख ६५ हजार ६७२ प्रतिबद्धता प्राप्त भएको मध्ये रु ३० लाख ९६ हजार २६८ रुपिया संकलन भएको छ भने रु ३१ लाख ३ हजार ३७४ रुपियाँ योजनामा खर्च भएको छ ।

९. भवन निर्माण एवं स्रोतकेन्द्रको सेवा सुबिधा बिस्तार भएपछि अपेक्षा गरिएका प्रतिफलहरु


  • वहुद्देश्यीय सामुदायिक स्रोत केन्द्र भवन निर्माण भई नागरिकको चासो एवं सवालमा परार्मश विचार विर्मश गर्ने साझा स्थल तयार हुनेछ ।
  • आवासीय तालिम केन्द्र, पुस्तकालय, सूचना केन्द्र र सभाकक्षको सुविधा एउटै भवनमा हुनेछ ।
  • महिला, दलित, जनजाति मधेसी, बालबालिका, यूवा लगायत पाखा पारिएका वर्ग एवं क्षेत्रका लागि उपयुक्त पुस्तकालयको व्यवस्था हुनेछ ।
  • क्षेत्रीय स्तरको डाटा वैंक स्थापना भई सुचना तथा तथ्याङ्क अध्यावधिकरुपमा प्राप्त गर्न सकिने छ ।
  •  क्षेत्रीय स्तरमा नागरिक समाज संस्थाहरुको संस्थागत तथा मानव संशाधन विकासमा टेवा पुग्नेछ ।
  • सार्वजनिक एवं संस्थागत उपयोगका लागि आवश्यक अवसरहरु जुट्ने छ ।
  

१२. सहयोगीहरुलाई प्रदान गरिने सम्मान


  •  रु.१।देखी रु ९९९।सम्म प्रदान गर्ने संघ संस्था वा व्यक्तिलाई रसिद प्रदान गरिने छ ।
  •  रु १,०००।देखि रु ४,९९९।सम्म प्रदान गर्ने संघ संस्था र व्यक्तिलाई कदर पत्र प्रदान गरिने छ ।
  •  रु.५,०००।देखि रु ९,९९९।सम्म प्रदान गर्ने संघ संस्था र व्यक्तिको नाम शिलालेखमा लेख्नुको साथै कदरपत्र प्रदान गरिनेछ ।
  • रु.१०,०००।देखी रु. २४,९९९।सम्म प्रदान गर्ने संघ संस्था र व्यक्तिको नाम शिलालेखमा लेख्नुका साथै कुनै समारोहमा कदर पत्र प्रदान गरिनेछ ।
  •  रु.२५,००० ।देखि रु. ४९,९९९।सम्म प्रदान गर्ने संघ संस्था र व्यक्तिको नाम शिलालेखमा लेख्नुका साथै समारोह आयोजना गरी चांदी रङको फ्रेममा कदर पत्र प्रदान गरिनेछ ।
  •  रु.५०,००० ।देखि रु.९९,९९९ ।सम्म प्रदान गर्ने संघ संस्था र व्यक्तिको नाम शिलालेखमा लेख्नुका साथै विशेष समारोह आयोजना गरी सुनौलो रङको फ्रेममा मेटलको कदर पत्र प्रदान गरिनेछ ।
  • रु.१,००,००० ।देखि रु.१,९९,९९९ ।सम्म प्रदान गर्ने संघ संस्था र व्यक्तिको नाम शिलालेखमा लेख्नुका साथै विशेष समारोह आयोजना गरी हस्तकलाको फ्रेममा मेटलको कदर पत्र प्रदान गरिनेछ । यसका अतिरिक्त रु. १ लाखभन्दा माथि सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाको नाम विशेष सहयोगीको रुपमा नागरिक स्रोत केन्द्रको सभाहलमा अङ्कित गरिनेछ ।
  • भवनको कुनै कोठा, हल, पुस्तकालय आदि निर्माण गरिदिने संघ संस्था र सहयोगीहरुको नाममा सो कोठा वा स्थानको नामाकरण, सभाहलमा नाम अङ्कित, शिलालेखमा समेत नाम लेख्नुका साथै हस्तकताको फ्रेममा मेटलको कदर पत्र प्रदान गरिनेछ ।

१३. निश्कर्ष  
यस सुचनाको युगमा स्रोतकेन्द्रको विकास बिस्तार एंव दिगोपनाले सबै क्षेत्रलाई फाइदा पुर्याउछ । स्रोतकेन्द्रमा हुने महिला तथा बालबालिका पुस्तकालय कक्ष सार्वजनिक पुस्तकालयका रुपमा विकास हुनेछ । सबैमा स्रोतकेन्द्र प्रति अपनत्वको भावना विकास एंव सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त गर्न सकिने वातावरण सृजना भएमा पूर्वाधार सम्पन्न सामुदायिक भवन निर्माणको कार्य पुरा भई हेटौंडामा वहुद्देश्यीय सामुदायिक स्रोतकेन्द्रको संस्थागत बिकास हुनेछ ।


भवन निर्माण सम्बन्धि बिस्तृत अवधारणा पत्र--- डाउनलोड गर्नुहोस