१. पृष्ठभुमि
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत वागमती अञ्चलको आठ जिल्लामध्ये एक ललितपुर जिल्ला काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमध्ये दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्धहरुको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तुपा, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, मछिन्द्रनाथ लगायत विभिन्न मठमन्दिर, पाटी-पौवा, स्तम्भहरु एवं सदर चिडियाखाना (जावलाखेल) तथा शाही वनस्पति उद्यान (गोदावरी) रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ । ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदा सूचिमा समावेश गरेको छ । भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरुको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्व बोकेको छ ।
२. भौगोलिक स्थिति
नेपालको मानचित्रमा ललितपुर जिल्लाको फैलावट २७'. २२" देखि २८'. ५०" उत्तरी अक्षांश र ८५०'. १४" देखि ८५०'. २६" पूर्वी देशान्तरसम्म रहेको छ । यस जिल्ला समुन्द्र सतहदेखि ४५७ मिटर उचाईदेखि २८३१ मिटरसम्म रहेको छ । यस जिल्लाको भू-धरातलमध्ये करिव एक तिहाई भाग उपत्यका भित्र र दुई तिहाई भाग पहाड तथा दुर्गम क्षेत्रमा पर्दछ । यस जिल्लाका दुर्गम स्थानहरुमा ठूलादुर्लुङ्ग, कालेश्वर, प्युटार, आश्राङ, गिम्दी, चन्दनपुर आदि पर्दछन् ।
३. भौगोलिक सिमाना
३. भौगोलिक सिमाना
ललितपुर जिल्लाको पूर्वमा काभ्रेपलान्चोक, पश्चिममा काठमाडौं, उत्तरमा भक्तपुर र दक्षिणमा मकवानपुर जिल्लाहरुसंग सिमाना जोडिएको छ । यस जिल्लाको क्षेत्रफल ३८५ वर्ग कि.मी. रहेको छ ।
४. जिल्लाको राजनैतिक विभाजन
४. जिल्लाको राजनैतिक विभाजन
निर्वाचन क्षेत्र नं | इलाका नं | गा.वि.स./न.पा. |
३ | १ | सैवू, सुनाकोठी, न.पा. १, २, ३, र १० वडाहरु |
२ | खोकना, वुंगमती | |
३ | धापाखल, ठेचो, न.पा. ४, १३, २० ,२१ वडाहरु | |
४ | हरिसिद्धि, ठैव, न.पा. ५, १४, १५, वडाहरु | |
२ | ५ | इमाडोल, न.पा. १६, १८, १९, २२ वडाहरु |
६ | सिद्धिपुर, न.पा. ६, १२, १७ वडाहरु | |
७ | टिकाथली, न.पा. ७, ८, ९, ११ वडाहरु | |
८ | लूभु, लामाटार | |
१ | ९ | गोदामचौर, विशंखुनारायण, वडिखेल, झरुवारासी, गोदावरी |
१० | चापागाउं, छम्पी, देवीचौर, लेले, डुकुछाप, घुसेल | |
११ | मानिखेल, गोटिखेल, वुखेल, भारदेउ, चौघरे, नल्लु | |
१२ | भट्टेडांडा, माल्टा, शंखु, दलचोकी, इकुडोल | |
१३ | आश्राङ, गिम्दी, ठुलादर्लुङ, चन्दनपुर, कालेश्वर, प्युटार |
५. राजनैतिक तथा प्रशासनिक व्यवस्था
यस जिल्लामा एक वटा उपमहानगरपालिका, ४१ वटा गा.वि.स., १३ वटा इलाका र ३ वटा संसदीय निर्वाचन क्षेत्र रहेका छन् ।
६. भू-उपयोग
यस जिल्लाको कूल क्षेत्रफल ३८५ वर्ग कि.मी. (९९.२% भाग मध्ये पहाडी र ०.८% भाग सिवालिक क्षेत्र) मध्ये भू-उपयोगको दृष्टिकोणमा कृषियोग्य क्षेत्रफल १५२.९६ वर्ग कि.मी., वनजंगलले ढाकेको भू-भाग १९७.९७ वर्ग कि.मी. र बाँकी ३४.०७ वर्ग कि.मी. भाग चरन झाडी तथा घाँसले ढाकेको छ । खेतियोग्य भूमिमध्ये सिंचित क्षेत्र ६६.२५ वर्ग कि.मी., आकासे पानीमा निर्भर ८६.७१ वर्ग कि.मी. र सिंचाईको सम्भाव्य क्षेत्रफल ८८.६८ वर्ग कि.मी. रहेको छ ।
यस जिल्लाको खाद्यान्न वालीहरुमा धान, मकै, गहुँ, कोदो, फापर, जौ, भटमास, केराउ, आलु र फलफूल वालीमा स्याउ, ओखर, नासपाति, सुन्तला, केरा, कागती, कफि, आदिको खेती गरिन्छ । यहाँको वनजंगल भेगमा साल, बाँस, कटुस, निगालो, चिलाउने, उत्तिस, कपुर, काइयो, पैंयूँ आदि वनस्पति रहेको छ । यहाँको वनजंगलमा बाघ, भालु, बदेल, हरिण, चितुवा, मृग, जस्ता जनावर लगायत नेपालमा मात्र पाइने चरा काँडेभ्याकर (Spiny Babblar), कालिज, तित्रा, भदर्राई, बर्ट्टाई, ढुकुर, जस्ता पंक्षीहरु रहेका छन् ।
७. जलवायु
यस जिल्लाको औषत अधिकतम् तापक्रम २३.६० सेल्सियस छ भने न्यूनतम् तापक्रम १०.७० सेल्सियस रहेको छ । यस जिल्लाको वाषिर्क वर्षा सरदर १२३२.६ मि.मि. रहेको छ । यस जिल्लाको हावापानी समशितोष्ण खालको रहेको तथा औषत सापेक्षिक आद्रता ५० देखि ८० प्रतिशत रहेको छ । जिल्लाको भौगोलिक धरातलीय अवस्था अनुसार ललितपुर जिल्लामा मूख्यतयाः तीन प्रकारको हावापानी पाइन्छ ।
(क) सम-उष्ण प्रदेशीय हावापानी (Sub Tropical Climate)
(क) सम-उष्ण प्रदेशीय हावापानी (Sub Tropical Climate)
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने समूद्र सतह भन्दा १,००० मिटर माथिसम्म रहेको भू-भाग विशेषतयाः जलाधार क्षेत्रको खोंचहरुमा यस प्रकारको हावापानी पाइन्छ । यस क्षेत्रमा वाषिर्क सरदर औषत तापक्रम २० डिरी सेल्सियस रहन्छ ।
(ख) न्यानो समशितोष्ण हावापानी (Warm Temperate Climate)
ललितपुर जिल्लाको महाभारत पर्वत श्रृंखलाको १,००० दखि २,००० मिटरसम्मको भू-भागमा यस प्रकारको हावापानी पाइन्छ । वाषिर्क सरदर औषत तापक्रम १५ देखि २० डिरी सेल्सियस रहेको छ भने यस क्षेत्रमा सरदर वाषिर्क वर्षा २,००० देखि २,४०० मी.मी. रहेको छ ।
(ग) ठण्डा समसितोष्ण हावापानी (Cool Temperate Climate)
यस प्रकारको हावापानी विशेषतयाः महाभारत पर्वत श्रृंखलाको उच्च भू-भाग अर्थात २,००० मी. भन्दा उचाईको क्षेत्रमा पाइन्छ । वाषिर्क सरदर औषत तापक्रम १० देखि १५ डिरी सेल्सियस रहने यो क्षेत्रमा वाषिर्क वर्षा भने १,३०० देखि २,००० मी.मी. रहेको छ ।
८. जलभण्डार
जलभण्डार वा जलस्र्रोतको हिसावले ललितपुर जिल्लामा नदीनालाहरु प्रचूर मात्रामा रहेको छ । वागमती, गोदावरी, नख्खु, खानी खोला, कोड्कु, टुङगुन, ठोटने, दुर्लुङ्ग, मनोहरा आदि यस जिल्लाका प्रमुख नदी तथा खोलाहरु हुन् । जिल्ला भरि जम्मा ६५ वटा नदी तथा खोलाहरु रहेका छन् भने तिनीहरुको कूल लम्वाई ३१४.९ कि.मी. रहेको छ । जिल्लाको उत्तर, पश्चिम र दक्षिण सिमाना हुंदै बग्ने नदी वागमतीलाई गोदावरी, कोड्कु, नख्खु खोला र दुलुङ्ग गरी ६ वटा प्रमुख उप-प्रणालीमा बांड्न सकिन्छ ।
यस जिल्लाको उत्तरी भेगमा बग्ने गोदावरी नदीले ४२.९६ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ भने लूभु खोला यसको प्रमुख सहायक खोला रहेको छ । भागावन डाँडाको उत्तरी भेगबाट प्रवाहित हुने कोड्कु खोला जसलाई कर्मनासा खोला पनि भनेर चिनिन्छ, सो खोलाले २८.७५ वर्ग कि.मी. ठाउँ ओगटेको छ । नख्खु खोलाले ५४.८५ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ भने यसको प्रमुख सहायक खोलाहरुमा लेले र नल्लु खोलाहरु पर्दछन् ।
महाभारत पर्वत श्रृंखलाको दक्षिणी पाखोमा प्रवाहित हुने खानीखोलाले ११३.३८ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ भने यसका २० वटा सहायक खोलाहरु रहेका छन् । ठिप्चे, ठोसने र टुङ्गुन खोलाहरु यसका प्रमुख सहायक खोलाहरु हुन् । जिल्लाको दक्षिण-पूर्वी भेगमा प्रवाहित हुने दुर्लुङ्ग खोलाले चर्चेको भू-भाग २७.१९ वर्ग कि.मी. मात्र रहेको छ भने यसका ६ वटा सहायक खोलाहरु रहेका छन् ।
यस जिल्लामा रहेका अन्य जलभण्डारका स्रोतहरु ताल तथा पोखरीहरुमा ग्वालीन दह, कटुवाल दह, गोदावरी कुण्ड, नाग दह, बोझे पोखरी र सरस्वती कुण्ड रहेका छन् ।
९. जनसंख्या
यस जिल्लाको जनसंख्या २०५८ सालको जनगणना अनुसार जम्मा ३,३७,७८५ रहेकोमा महिला १,६५,३३० (४८.९५५) र पुरुष १,७२,४५५ (५१.०५%) छन् । विगत १० वर्षो अन्तरालमा जनसंख्या ८०,६९९ वृद्धि भएको छ । यस जिल्लाको वाषिर्क जनसंख्या वृद्धिदर २.७३% रहेको छ भने लैङ्गकि अनुपात १०४.३१ रहेको छ । यस जिल्लाको जनघनत्व ८७७.३६ व्यक्ति/वर्ग कि.मी. रहेको छ । यहाँको घरधुरी संख्या ६८,९२२ रहेको छ भने औषत घर परिवार संख्या ४.९० रहेको छ । यहाँको जनसंख्या नेपालको जनसंख्याको १.४६% रहेको छ । साथै यहाँको शहरी जनसंख्या १,६२,९९१ छन् भने ४१ वटा गा.वि.स.को जनसंख्या १,७३,६३६ र संस्थागत जनसंख्या १,१५८ छन् ।
यस जिल्लाको जनसंख्या प्रवृत्ति निम्न तालिका अनुसार रहेको छ ।
वर्ष (सन्) | जम्मा | महिला | पुरुष |
१९५२/५४ | १,३३,७४३ | (प्राप्त नभएको) | (प्राप्त नभएको) |
१९६१ | १,४५,३०१ | ७२,४२१ | ७२,८८० |
१९७१ | १,५४,९९८ | ७६,३६९ | ७८,६२९ |
१९८१ | १,८४,३४१ | ८६,६६३ | ९७,६७८ |
१९९१ | २,५७,०८६ | १,२६,७६० | १,३०,३२६ |
२००१ | ३,३७,७८५ | १,६५,३३० | १,७२,४५५ |
२००६ (प्रक्षेपित) | ३,८१,३२७ | १,९४,०५२ | १,८७,२७५ |
१०. यातायात
यस जिल्लाको पहाडी क्षेत्रमा बाहेक उपत्यकामा धेरैजसो सडक यातायातको सुविधा रहको छ । जिल्लाको सदरमुकामदेखि लामाटार ९ कि.मी., चापागाउँ ७ कि.मी. र गोदावरी ७ कि.मी. पक्की बाटो, भट्टेडाँडाको छपेलीसम्म ३२ कि.मी., गोटिखेल माथि चन्दनपुरसम्म ५३ कि.मी., बुंगमती-टिकाभैरव ७ कि.मी., लेले भञ्ज्यांग-चिहानडाँडा २ कि.मी., दल्चोकी-शंखु-इकुडोल सडक १५ कि.मी., बगुवा आश्रङ्ग-गिम्दी-ठूला दुर्लुङ्ग-ठाँटी भञ्ज्याङ्ग १६ कि.मी., चन्दनपुर-ससिपा भञ्ज्याङ्ग-ठाँटी भञ्ज्याङ्ग ७.५ कि.मी. र रातोमाटे खोर भञ्ज्याङ्ग-कालेश्वर १५ कि.मी. कच्ची बाटो निर्माण भएका छन् । यस्ता बाटाहरुमा हिउंदमा मात्र सवारी साधन चल्नुका साथै वर्षायाम्मा बाढी पहिरोको कारण यातायातमा अवरोध उत्पन्न भैरहेको छ । यस जिल्लामा १ उपमहानगरपालिका पनि रहेको कारणले गर्दा १२२ कि.मी. कालो पत्र सडक रहेको छ भने १२० कि.मी ग्राभेल सडक र करिव २३० कि.मी. कच्ची सडक गरी जम्मा ४७२ कि.मी. सडक रहेका छन् ।यस जिल्लामा पक्की पुल १२, अन्य झेालुङ्गे पुल ३० रहेका छन् ।
ललितपुर जिल्लाका निम्न तीन मुख्य सडकहरुलाई प्राथमिकताका साथ निर्माण गरिनुपर्ने देखिन्छ ।
क) उपत्यकालाई तराईसंग जोड्ने जम्मा ८७ कि.मी. लम्बाई भएको वैकल्पिक राजमार्गको रुपमा विकास गर्न सकिने कान्तिराजपथ (हाल ललितपुर मकवानपुर सडक)को अवधारणा वि.सं. २०१३ सालमा आएको भएतापनि यातायात पुरै सञ्चालन हुन सकेको छैन । ३४ कि.मी. पर पर्ने वागमति नदिमा करिव १०५ मी. लम्वाई र ८.५ चौर्डाईको स्टिल ट्रस (Steel truss) को पुल निर्माण गर्न सके यो बाटो सञ्चालनमा ल्याउन सकिने छ ।
ख) त्यसैगरी दुर्गम क्षेत्रका १२ वटा गा.वि.स. लाभान्वित हुने ४५ कि.मी.को लेले-चन्दनपुर सडकले पूर्णता पाएमा त्यस क्षेत्रका कृषि तथा पशुजन्य उत्पादनले बजार प्राप्त गरी गरिबी निवारणमा ठूलो टेवा मिल्नेछ ।
ग) ललितपुरको ग्वार्को-लामाटारबाट काभ्रेको पनौती जोड्ने करिब ३८ कि.मी. को सडकले दुइ जिल्लाका बासिन्दा मात्र नभई उपत्यकालाई नै लाभ पुग्ने देखिन्छ ।
घ) नख्खु करिडोरः टिका भैरवदेखि बल्खु पुलसम्म नख्खु खोलाको किनारै किनारबाट करिडोरको रुपमा करिब १८ कि.मी.को सडक निर्माण गर्न सकिएमा चापागाउँदेखि सातदोबाटोको बाटोमा पर्ने यातायात चापमा कमी आउनुको साथै नयाँ लिङ्क रोडको रुपमा विस्तार भै यस जिल्लावासीलाई निकै लाभ पुग्ने देखिन्छ ।
११. शैक्षिक गतिविधि
यस जिल्लाको शहरी क्षेत्रमा पर्याप्त मात्रामा शैक्षिक सुविधाहरु उपलव्ध छन् र दुर्गम भेगमा तुलनात्मक रुपमा कमी देखिन्छ । साक्षरता प्रतिशत ७०.८% रहेको यस जिल्लामा पुरुषतर्फ ८०.८% र महिला तर्फ ६०.३% साक्षरता रहेको देखिन्छ । उच्च शिक्षातर्फपनि यस जिल्ला अग्रपंक्तीमा रहेको छ ।खुद भर्नादर ९३% रहेका छन् भने कूल भर्नादर ११०% रहेका छन् ।
यस जिल्लाको शैक्षिक गतिविधि यसप्रकार छः-
सामुदायिक विद्यालय | संख्या | संस्थागत विद्यालय | संख्या |
पूर्व प्राथमिक विद्यालय | १९३ | पूर्व प्राथमिक विद्यालय | २०० |
प्राथमिक विद्यालय | १०६ | प्राथमिक विद्यालय | ७४ |
निम्न माध्यमिक विद्यालय | ४० | निम्न माध्यमिक विद्यालय | २५ |
माध्यमिक विद्यालय | ३८ | माध्यमिक विद्यालय | १८१ |
उच्च माध्यमिक विद्यालय | २४ | उच्च माध्यमिक विद्यालय | ५ |
१२. विद्यार्थी विवरण
विद्यालय किसिम | सामुदायिक | संस्थागत | ||
छात्रा | छात्र | छात्रा | छात्र | |
पूर्व प्राथमिक विद्यालय | २०३० | २१३८ | १२५७२ | १४३४० |
प्राथमिक विद्यालय | १५९४३ | १४९४३ | १३५७५ | १७२२३ |
निम्न माध्यमिक विद्यालय | ६९०४ | ५४९२ | १०३३६ | १२१७१ |
माध्यमिक विद्यालय | ५१८१ | २५२४ | ६४७३ | ८०६५ |
जम्मा | ३००५९ | २५११५ | ४२९५६ | ५१७९९ |
क्याम्पस :
यस जिल्लामा धेरै कलेज तथा क्याम्पसहरु रहेका छन् । ती मध्ये त्रिभुवन विश्वविद्यालयतर्फपुल्चोक क्याम्पस (इन्जिनियरिङ्ग अध्ययन संस्थान) र पाटन संयुक्त क्याम्पस रहेका छन् ।
१३. स्वास्थ्य सेवा
यस ललितपुर जिल्लामा केन्द्रीयस्तर र निजी क्षेत्र समेत गरी ७ वटा भन्दाबढी अस्पताल रहेका छन्
प्रा.स्वा.केन्द्र ३, हेल्थपोष्ट १०, उपस्वास्थ्य चौकी २९, आयुर्वेद औषधालय २, युनानी औषधालय १, होमियोप्याथिक अस्पताल १, जिल्ला आयुर्वेद केन्द्र १ रहेका छन् ।
१४. हुलाक सेवा
यस ललितपुर जिल्लामा १ जिल्ला हुलाक, ९ इलाका हुलाक कार्यालय र ३६ अतिरिक्त हुलाक गरी जम्मा ४६ वटा हुलाक कार्यालय सञ्चालित छन् तथा ३ वटा हुलाक कार्यालयमा बचत बैंक सेवा लागू भएको छ । वैदेशिक द्रुत सेवा जिल्ला हुलाक कार्यालय ललितपुरबाट सञ्चालित भइरहेको छ ।
१५. विद्युत सेवा
१५. विद्युत सेवा
ल.पु. उपमहानगरपालिकाको प्रायः सबै क्षेत्रमा विद्युत सेवा उपलव्ध भएको छ भने विद्युत सेवा उपलव्ध भएका गा.वि.स. डुकुछाप, छम्पी, चापागाउँ, वडिखेल, झरुवारासी, गोदावरी, गोदामचौर, विशंखुनारायण, लामाटार, लुभू, टिकाथली, सिद्धिपुर, इमाडोल, सैंवु, खोकना, सुनाकोठी, ठैव, हरिसिद्धि, बुंगमती, ठेचो, लेले, धापाखेल रहेका छन् भने स्थानीय श्रोत परिचालन गरी केही दुर्गम गाविसहरुमा विजुली वत्ति बलेको छ भने गोटीखेल, शंखु, चन्दनपुर, भट्टेडांडा लगायतका गाविसहरुमा पनि केन्द्रीय लाईनबाट विद्युत सेवा विस्तार भएको र अन्य स्थानमा पोलिङ कार्य भैरहेको छ ।

Posted in: 






